काठमाण्डौ,२५ बैशाख ।
अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररूपमा छानबिन गरिनुपर्ने सांसदहरुले माग राखेका छन् ।
आज (सोमवार) बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररूपमा छानबिन गरिनुपर्ने माग राखेका हुन् ।
सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी काण्डले राष्ट्रलाई नै लज्जित बनाएको उल्लेख गर्दै यसमा मुछिएका सबै व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले यस विषयमा अध्ययनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे ।
सांसद चित्रबहादुर केसीले राज्यसत्ताका महत्त्वपूर्ण ठाउँमा बसेका नै यो प्रकरणमा मुछिएको भन्दै संसद्ले यो विषयलाई गम्भीररूपमा लिनुपर्ने बताए । यो प्रकरणलाई मोडेर विषयान्तर हुन खोजेकोबारे पनि सांसद केसीले संसद्को ध्यानाकर्षण गराए ।
‘कुनै नयाँ काण्ड आउँछन् र त्यसपछि फेरि विषय अर्कोतर्फ मोडिन्छ । त्यस कारण यो काण्डबारे दूधको दूध पानीको पानी हुने गरी छानबिन गरिनुपर्छ । यो विषय टुङ्ग्याएरमात्र संसद्ले आफ्ना काम अगाडि बढाउनुपर्छ’, उनले भने ।
सांसद असीम शाहले पनि नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररूपमा छानबिन गर्न आवश्यक रहेको बताए ।





