काठमाडौँ,२५ बैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा फेरी अर्को रिट परेको छ ।
लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको दाबी गर्दै सिन्धुलीका युवराज सफल रिट निवेदन बोकेर सोमबार सर्वोच्च अदालत पुगेका हुन् ।

रवि सांसद रहिरहँदा कानुनको शासन र संवैधानिक सर्वोच्चतामाथि नै गम्भीर प्रश्न उठ्ने दाबी गर्दै रिट निवेदनमा मुद्दाको अन्तिम निर्णय नहुँदासम्म उनलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अन्तरगत अन्तरिम आदेश जारी गरी प्रतिनिधिसभा सदस्यको रुपमा कार्य गर्न रोक लगाउन माग गरिएको छ ।

पुनः नागरिकता प्राप्त गर्ने प्रक्रियामा नै प्रवेश नगरी लामिछानेले गत माघ १५ मा नागरिकताको प्रतिलिपी लिएको रिट निवेदनमा दाबी गरिएको छ । सोही प्रतिलिपिका आधारमा लामिछाने चितवन २ मा भएको उपनिर्वाचनमा उम्मेदवार बनेको रिटमा जिकिर गरिएको छ ।
सो रिट सर्वोच्च प्रशासनले दर्ता भने गरिसकेको छैन । सफलले मुद्दा अध्ययनको क्रममा रहेको र आफूलाई बुधबार बोलाइएको पत्रकारहरुलाई जानकारी दिए ।