काठमाण्डाै,२५ बैशाख ।
इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा सनराइजर्स हैदराबाद विजयी भएको छ । गएराति भएको खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई चार विकेटले पराजित गरेको हो ।
राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर भेट्टायो । हैदराबादका लागि अभिषेक शर्माले अर्धशतकीय पारी खेले । उनले ५५ रन जोडे भने राहुल त्रिपाठीले ४७ रन बनाए ।
यस्तै, अनमोलप्रित सिंहले ३३, हेनरिक केल्सनले २६, ग्लेन फिलिप्सले २५, अब्दुल सामदले १७ रन बनाए । राजस्थानका लागि युजभेन्द्र चहलले ४ विकेट लिए भने कुलदीप यादव र रविचन्द्रन आश्विनले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । राजस्थानका लागि जस बटलरले ९५ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।
यस्तै, सन्जु सामसनले पनि ६६ रनको अर्धशतकीय पारी खेले । यशभी जैसवालले ३५ रन बनाए । हैदराबादका लागि भुवनेश्वर कुमार र मार्को यानसनले १/१ विकेट लिए ।
जितसँगै हैदराबाद १० खेलमा ८ अंक जोडेर नवौँ स्थानमा छ । राजस्थान ११ खेलमा १० अंक जोडेर चौथो स्थानमा छ । यसअघि हिजोको पहिलो खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्सलाई ५६ रनले हराएको थियो ।





