काठमाडौं,२४ वैशाख ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै अर्थतन्त्रमा शिथिलता देखिएको छ ।
उनले अर्थतन्त्रको समस्या समाधान वित्त नीति भन्दा पनि मौद्रिक नीतिले गर्न सक्ने बताए । उनले कोभिड–१९ मा वित्त नीतिबाट पूँजी परिचालन गर्न नसक्दा र मौद्रिक उपकरणमार्फत अत्यधिक कर्जा प्रवाह हुँदा समस्या भएको बताए । अहिले अर्थतन्त्रमा शिथिलता आउनुको धेरै कारण रहेको भन्दै त्यसको समाधान लचिलो मौद्रिक नीतिमार्फत गर्नुपर्ने उनले बताए ।
उनले वित्त नीति लचिलो बनाएर पूँजी परिचालन गर्न सक्ने अवस्था नभएकाले लचिलो मौद्रिक नीति लिँदै मौद्रिक उपकरणमार्फत आर्थिक गतिविधि बढाउनुपर्ने दोहो¥याए ।
पूँजी प्रवाहका लागि लचिलो मौद्रिक नीति छिटो ल्याउन जरुरी रहेको अर्थमन्त्री महतले बताए । आर्थिक नीतिमार्फत पूँजी प्रवाहलाई व्यापक बनाउनुपर्ने उनले बताए ।
उनले लगानी आउन थाल्यो, उद्योग व्यावसाय बढ्यो, रोजगारी सिर्जना भयो, आम्दानी बढ्न थाल्यो भने मात्र राजस्व बढ्ने् बताए ।
साधारण खर्च र अनुत्पादक खर्च कम गर्ने उनले बताए । साधारण खर्चमा सामाजिक सुरक्षाका विषयदेखि लिएर, तलब भत्ता, स्थानीय तहमा जाने सहयोग अनिवार्य भएपनि कतिपय क्षेत्र खर्च कटौति गर्न सकिने पनि रहेको उनले बताए ।
सरकारले सबै गर्न सम्भव नभएको भन्दै निजी क्षेत्रको सहयोग, बैंकिङ क्षेत्रको सहयोग र सबै क्षेत्रको सहयोगबाट फराकिलो र समावेशी आर्थिक वृद्धि, रोजगारी सिर्जना गर्न सम्भव हुने उनले बताए । यसमध्ये पनि बैंकिङ क्षेत्रको ठूलो भूमिका रहने अर्थमन्त्री महतले बताए ।





