काठमाण्डाै,१७ बैशाख ।
आज काठमाण्डौसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मनैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पश्चिमी क्षेत्रमा हिजोदेखि नै पानी परिरहेको छ । गण्डकी,लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए ।

काठमाण्डौमा भने हिजो बेलुका पछि पानी पर्न रोकिएको छ । तर, आज पनि हिजोको जस्तै पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताए ।

काठमाण्डौ उपत्यकामा दिउँसो पछि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो २० घण्टाको तथ्याङ्कअनुसार सबैभन्दा धेरै वर्षा काठमाण्डौ उपत्यकामा भएको छ । उपत्यकामा यो अवधिमा ४३ मिलिमिटर पानी परेको तथ्याङ्कले देखाएको छ ।

पश्चिमीसँगै स्थानीय वायु सक्रिय हुँदा देशभरको मौसम बदली भएको छ । हिजोदेखि धेरै ठाउँमा पानी परिरहेको छ । भोलि पनि केही ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना छ । भोलि मधेस प्रदेशका एक/ दुई ठाउँमा हावाहुरी चल्ने अनुमानसमेत रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए ।