लुम्बिनीमा पनि साेहि धारा अनुसार आह्वान हुने सत्ता गठवन्धनकाे अपेक्षा
बुटवल,१२ वैशाख ।
गण्डकी प्रदेशमा ३ दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न ३ दिनभित्र दाबी गर्न आह्वान गरेका हुन् ।
पुस २५ गते माओवादी र राप्रपाको समर्थनमा एमालेबाट मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारी सरकारबाट केन्द्रमा सत्ता समीकरण फेरिसँगै चैत १० गते माओवादीले समर्थन फिर्ता लिएको थियो ।
१ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार २९ औं दिनमा मुख्यमन्त्री अधिकारीले संसदमा विश्वासको मतको प्रस्ताव गरेका थिए । तर, एमालेका २२ र राप्रपाका २ सदस्यले मात्र पक्षमा मत दिएर कांग्रेसका २७, माओवादीका ७ (सभामुखबाहेक) र स्वतन्त्र सांस्द जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङसहित ३५ जनाले विपक्षमा मत दिँदा ९ गते शनिबार अधिकारी सरकार ढलेको थियो ।
कुन उपधारा बमोजिम सरकार गठन गर्ने भन्ने अन्योलमा कानुनी परामर्शका लागि खगराज अधिकारी सरकार ढल्ने बेला नै प्रदेश प्रमुख गुरुङ काठमाडौं पुगेका थिए । आइतबार साँझमात्र पोखरा फर्किएका गुरुङले सरकार गठन आह्वान गर्न विलम्ब गरेपछि उनको आलोचनासमेत भएको थियो । सोमबार नै लुम्बिनी सरकार पनि ढलेको छ । लुम्बिनीमा पनि गण्डकीको नजिर हेरेर आह्वान गर्ने प्रदेश प्रमुख अमिक शेरचनले बताएका छन् ।
प्रदेश प्रमुख गुरुङले मंगलबार ३ दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेसका सुरेन्द्रराज पाण्डेले दाबी पेश गर्न जाने तयारी गरेका छन् ।
गण्डकीमा उपधारा २ बमोजिम नै सरकार गठन भएपछि लुम्बिनीमा पनि त्यसरी नै आह्वान गर्ने एक नेताले बताए । तर, लुम्बिनीमा ठूलो दल एमालेले उपधारा ३ बमोजिम नै सरकार गठन हुनुपर्ने बताइरहेको छ ।






