काठमाडौँ,९ बैशाख ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनतालाई माथि उठाउन जनवादी सत्ता ल्याउनुको विकल्प नभएको बताएका
छन् ।
रुसमा लेलिनको नेतृत्वमा गरिएको रुसी क्रान्तिको स्मरण गराउँदै उनले नेपालमा पनि निराश जनतालाई माथि उठाउन जनवादी सत्ता ल्याउनुको विकल्प नभएको बताए ।
उनले वर्तमान राज्य व्यवस्था असफल भइसकेको टिप्पणी समेत गरे ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘आजको संसदीय व्यवस्था असफल भयो । सफल छैन । नेपाली जनतालाई यति धेरै निराश, यति धेरै लज्जित यो व्यवस्थाले बनाईराखेको छ । त्यसैले हामीले यो बाट अगाडि बढाउनका लागि नयाँ आधारमा बहस खोजौं । छलफल गरौं । हाम्रो यो दृष्टिकोण हो । जनतालाई स्वाधिन बनाउन छ भने जनताको सत्ता बाहेक अरुबाट सम्भव छैन ।’
उनले देशलाई स्वाधिन बनाउन र नागरिकलाई मालिक बनाउनका लागि बैज्ञानिक समाजवादको विकल्प नभएकाले त्यसका लागि बहसमा जुटन पनि अन्य कम्युनिष्ट पार्टीहरुलाई आग्रह गरे ।
जनताको शासन सत्ता ल्याउनका लागि आफ्नो पार्टीले अन्य कम्युनिष्ट पार्टीहरुसँग खुला बहस गर्न चाहेको पनि महासचिव विप्लवको बताए ।
खुलामञ्चमा आयोजित कार्यक्रममा नेकपा एमालेबाहेक अरु कम्युनिस्ट पार्टीका नेताहरु पनि सहभागी भएका थिए । नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई उक्त कार्यक्रममा सहभागी थिए । उक्त कार्यक्रममा नेकपा एमालेका नेताहरु भने सहभागी भएनन् ।






