म्याग्दी,७ बैशाख ।
अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना भारतीय आरोहीको चार दिनपछि जीवितै उद्धार गरिएको छ ।
भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु आज बिहीवार बिहान अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएका हुन् । गएको सोमवारदेखि बेपत्ता मालुलाई प्रभु एअरको हेलिकप्टरले बिहान साढे १० बजे सात हजार पाँच सय मिटरको उचाइबाट उद्धार गरेको सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए ।
उद्धार गरिएका आरोहीको पोखराको मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार थालिएको उहाँले बताउनुभयो । परिवारका सदस्यका अनुसार मालुको अवस्था गम्भीर छ । मालु सेभेन समिट टे«कमार्फत आरोहणमा जानुभएको थियो । आरोहण सफल नभएपछि आधार शिविर फर्कने क्रममा उनि बेपत्ता भएका थिए ।
अन्नपूर्ण हिमालबाट यसअघि मंगलबार भारतीय आरोही २७ वर्षीय बलजीत कौरको पनि उद्धार गरिएको थियो । काठमाण्डौ लगिएकी कौरको अवस्था सामान्य रहेको ट्रेकिङ कम्पनी पायोनियर एडभेन्चरले जनाएको छ ।
यस्तै अन्नपूर्ण आरोहण गरेर फर्कने क्रममा कटल्याडका आरोही नोयल हान्नाको मंगलबार मृत्यु भएको थियो ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा गएको शनिवारदेखि यस वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो ।
यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समूहका ४५ जनाले अनुमति लिएका थिए । बुधवारसम्म ३५ जनाले आरोहण गरिसकेका अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए ।
अन्नपूर्ण संसारको दशौँ अग्लो हिमाल हो । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमन्ड हिलारी र तेञ्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।






