बुटवल,२ बैशाख ।
राष्ट्रपति रामचन्द्र पौडेलले विश्व सामु नेपाललाई प्रकृति र संस्कृतिले चिनाएको वताएका छन् ।

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेशन अमेरिकाले गरिरहेको ‘मेरो भ्वाइस इनिभर्स र मेरो डान्स इनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारहरुलाई सम्बोधन गर्दै उनले नेपाल बहुजातीय तथा बहुसांकृतिक मुलुक भएको बताएका हुन् ।

राष्ट्रपति पौडेलले नेपालमा जात धर्ममामात्र विविधता नभई प्रकृति र संस्कृतिमा पनि विविधता भएको विचार व्यक्त गरे । उनले नेपालमा आर्य, मंगोल र आग्नेय परिवारका समुदायको समिश्रित संस्कृति रहेको बताउँंदै यी सवैलाई मिलाउन सकेमा नेपाली नेपालीबीचको एकता बलियो हुने धारणा राखे ।

नेपालीहरु विश्वका कुना कुनामा पुगेको बताउँंदै राष्ट्रपति पौडेलले विदेशमा रहेर पनि नेपालीले आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानमा लागेकोमा इन्ट्रा्–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनको प्रशंसा गरे । नेपालको संस्कृति विश्व सामू चिनाउनका लागि फाउण्डेशनले अझै थप काम गर्नुपर्ने राष्ट्रपति पौडेलको सुझाव थियो ।

फाउण्डेशनले आफ्रिकाभन्दा बाहेकका ६ महादेशका विभिन्न देशबाट र नेपालबाट मेरो भ्वाइस इनिभर्स र मेरो डान्स इनिभर्समा नेपाली संस्कृति र पहिचान झल्कने नृत्य र गायन प्रतियोगिता गरिरहेको छ ।

गायनतर्फ १ सय २० जना र नृत्यतर्फ १ सय २० जना कलाकार सहभागि रहेको फाउण्डेशनले जनाएको छ ।