बुटवल,२ बैशाख ।
रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेललाई संघले बिदाई गरेको छ ।
इन्स्योर प्रोग्राम अन्तरगत स्विजरल्याण्डको भ्रमणमा जान लागेका अध्यक्ष पौडेललाई शनिवार एक कार्यक्रमकावीच विदाई गरिएको हो ।

अध्यक्ष पौडेललाई संघका निर्वतमान अध्यक्ष बाबुराम बोहोरा, सल्लाहाकार समितिका संयोजक एवं पूर्वअध्यक्ष दिनेशराज रेग्मी, वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा लगायतले खादा र माला लगाएर विदाई गरेका हुन् ।

त्यस अवसरमा अध्यक्ष पौडेलले औद्योगिक विकासका लागि आवश्यक सीप र क्षमता बृद्धिका लागि आवश्यक तालिम सञ्चालन गर्ने उद्देश्यले परियोजना अगाडी बढाएको बताए । सञ्चालनमा रहेका परियोजनाका बारेमा जानकारी लिने उद्देश्यले संस्थागत प्रतिनिधित्व गरि भ्रमण गर्न लागिएको बताउदै अध्यक्ष पौडेलले त्यसबाट नयाँ कुराको सिकाई हुने विश्वास व्यक्त गरे ।

भ्रमण टोलीमा निजि क्षेत्रको संस्थागत प्रतिनिधित्व गर्दै रुपन्देही उद्योग संघबाट अध्यक्ष पौडेल जान लागेको संघले जनाएको छ ।
टोलीमा नेपाल सरकारकातर्फबाट उद्योग मन्त्रालय, उद्योग विभागका प्रतिनिधि रहने बताइएको छ ।

स्विस सरकारको सहयोगमा सञ्चालित परियोजना अन्तरगत दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) को सहकार्यमा रुपन्देही उद्योग संघले क्षमता विकास तालिमहरु सञ्चालन गर्दै आएको छ ।
यसैवीच संघको शनिवार बसेको कार्यसमितिको नियमित बैठकले पछिल्ला दिनहरुमा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको प्रति चिन्ता व्यक्त गरेको छ ।

प्रदूषणको बढ्दो स्तरका कारण स्वास्थ्यमा नकारात्मक असर पर्नुकासाथै जनजिवन प्रभावित भएकोतर्फ सबै सचेत बनेर प्रदुषण कम गर्ने उपाय अवलम्बन गर्न आग्रह गरेको संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले जानकारी दिए ।