बुटवल,१४ असार ।
नेतृत्व राष्ट्रिय त्रैमासिक (वर्ष २९,अंक १) काे शनिबार नवलपरासी पूर्वको कावासोतीमा सार्वजनिक तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

यस अंकका प्रमुख पात्र सामाजिक व्यक्तित्व नरबहादुर ठाडा थापाकाे अध्यक्षता र स्तम्भकार एवम् राजनीतिक व्यक्तित्व टाेप अस्लामी मगरकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
नयाँ अंक सार्वजनिक तथा परिचर्चा कार्यक्रममा प्रमुख अतिथि तथा स्तम्भकार एवम् राजनीतिक व्यक्तित्व अस्लामी मगरले पठन संस्कृतिकाे जगेर्नाका लागि नेतृत्व त्रैमासिकको अथक मेहनत कदरयोग्य रहेको बताए । समाजमा रहेका असल पात्र,संस्कार, चालचलन तथा सवालबारे साझा र समावेशी सामग्री उजागर गरेर नेतृत्वले समुदाय सबलीकरणमा यथासक्य टेवा पुर्याएको अस्लामीले बताए ।
उच्च अदालतका पूर्व न्यायाधीश ऋषिराम अधिकारीले समाज र राष्ट्रिय हितका लागि नेतृत्वको पहल उदाहरणीय रहेको उल्लेख गरे । उनले यो अंकका पात्र नरबहादुर असल व्यक्तित्व रहेकोले नेतृत्वले स्थान दिएर न्याय गरेको बताए ।
कार्यक्रममा कावासोती नगरपालिका वडा नम्बर १ का कार्यवाहक अध्यक्ष ओम थापाले ओझेलमा परेका असल पात्र,महत्त्वपूर्ण सवालबारे सामग्री उजागर गर्ने नेतृत्व त्रैमासिकका सम्पादक गोविन्द भट्टराईको कर्म उदाहरणीय बताए ।
लेखक लीला मास्कीले नेतृत्वले योग्य पात्र छनोट गरेको बताउदै आफू पनि संघर्ष गरेर स्थापित हुन सकेको स्मरण गरिन् ।
कावासोती बौद्ध गुम्बा विहारका चन्द्रबहादुर ठाडा थापाकाे स्वागत तथा सम्पादक गोविन्द भट्टराईको सन्चालनमा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा क्रीयाशील व्यक्तित्वहरूकाे उल्लेख्य सहभागीता रहेको थियो ।
साे अवसरमा ८० वर्षका नरबहादुरलाई सतायू तथा सक्रियताको शुभेच्छासहित सबैले पुष्प गुच्छा अर्पण गरेका थिए ।
कावासोतीमा समुदायको सहभागितामा यसखालको नौलो कार्यक्रम भएको अधिकाँशको प्रतिक्रिया थियो ।






