तिलोत्तमा,१ बैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तिलोत्तमा नगर समितिले नव वर्ष २०८० को अवसरमा मठ मन्दिरमा सरसफाई गरेको छ ।

नयाँ बर्षकाे अवसरमा मठ मन्दिर सरसफाइ गर्ने पार्टीको केन्द्रीय सर्कुल अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ बिन्दबासिनी मन्दिर परिषरमा सरसफाई गरेको हो ।

पार्टीको सर्कुलर अनुसार ऐतिहासिक स्थलमा रहेको बिन्दबासिनी मन्दिर परिषरमा सरसफाई गरिएको राप्रपा नगर समितिका उपाध्यक्ष दिपेश बस्यालले जानकारी दिए ।

धर्मको रक्षार्थ मठ मन्दिर सरसफाई कार्यक्रम अनुसार १०८ पिपलको बोट र ऐतिहासिक पोखरी रहेको बिन्दबासिनी मन्दिरमा नव वर्षको पहिलो दिन सरसफाई गरिएको उनले बताए ।

राप्रपा रुपन्देही जिल्ला सदस्य भुवन खनालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा राप्रपा स्याङ्जाका पुर्व अध्यक्ष ज्ञान प्रसाद न्यौपान, नागर समिति महिला उपाध्यक्ष थुमिशरा राना, किरण शर्मा पाण्डेय,नगर सचिब निरञ्जन पराजुली लगायतको सक्रियतामा मन्दिर सरसफाई अभियान सञ्चालन गरिएको हो ।

हिन्दु धर्मको रक्षासँगै मठमन्दिरको संरक्षणको आवश्यकता रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले बताए । पुरातात्विक स्थलकाे रूपमा रहेको साे मन्दिरको प्रचार प्रसार र विकास हुन नसकेको उनिहरुकाे भनाइ थियो ।

पोखरी नजिकै रहेको मौलोमा पुजा हुँदै आएको यस क्षेत्रमा २०३५ सालमा मन्दिर स्थापना गरेर बिन्दबासिनीको पुजाआजा हुँदै आएको मन्दिर विकास समितिका अध्यक्ष माेहनलाल पाण्डेयले जानकारी दिए । वडा दशै र चैते दशैमा मन्दिरमा भक्तजनको घुईचो लाग्ने गरेकाे उनलेे बताए ।
.