बुटवल,३० चैत ।
नव वर्ष २०८० मा अर्थतन्त्रमा सुुधार आएर उद्योग तथा ब्यवसाय फस्टाउनेमा सरोकारवालाहरुले विश्वास ब्यक्त गरेका छन ।
वर्ष २०७९ मा आर्थिक मन्दिका कारण उद्योग तथा ब्यवसाय संकटमा परेको बताउँदै उद्योगीहरुले अर्थतन्त्र सुधारमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ रूपन्देहीले बिहिबार तिलोत्तमामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनिहरुले राज्यले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिए अर्थतन्त्रमा सुधार हुन सक्ने बताएका हुन ।

कार्यक्रममा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले महिला र युवा उद्यमीहरूलाई प्रोत्साहन र सहयोग गर्नको लागि नगरमा उद्यमशीलता कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नगर प्रमुख खाँणले कृषि उत्पादन बृद्विको आवश्यकता औल्याउदै कृषिमा आधारित उद्योग सञ्चालनमा जोड दिए । उनले नगरमा ३० विगा जग्गामा उद्योग ग्राम स्थापनाको लागि पुर्वाधार निर्माणको काम सुरु भएको जानकारी गराए ।

महासंघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष नेत्र प्रसाद पाठकले राज्यले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिए उत्पादनमा बृद्वि हुने र अर्थतन्त्रमा सुधार हुने बताए ।

उनले उपभोक्ताहरुले पनि स्वदेशी उत्पादन प्रयोगमा जोड दिए स्वदेशी उद्योग प्रबद्र्धनमा थप मद्धत पुग्ने बताए ।
कार्यक्रममा महासंघ लुम्बिनी प्रदेश महिला उद्यमी समितका कार्यबाहक अध्यक्ष सावित्रा टण्डनले अहिलेको आर्थिक मन्दीका कारण उद्योगधन्दा विस्थापित हुने अवस्था आए पनि संघर्षपूर्ण तरिकारले सञ्चालन गरिएको बताइन् । उद्योगब्यवसाय पलायन हुनबाट रोक्नको लागि राज्यले पहल कदमी चाल्नु पर्ने उनको शुझाँब थियो ।

महासंघका सल्लाहकार तेजकुमार पाठकले आर्थिक मन्दिले उद्योगीहरू अहिले अत्तालिएको बताउँदै संकटको अवस्थामा पनि उद्योगलाई बचाई राख्नुपर्नेमा जोड दिए ।

नेपाल घरेलु तथा साना उद्योग तिलोत्तमा नगर समितिका सचिब थानेश्वर चापागाईंले उद्योगी र उपभोक्ता ब्याजदर र मुल्य बृद्विको मारमा परेको गुनाशो पोखे ।

सो अवसरमा महिला उद्यमी भिमसरा गदारी मगर लाई सम्मान गरिएको महासंघ लुम्बिनी प्रदेशका कार्यकारी अधिकृत मनोज भट्टराईले जानकारी दिए । घरेलु उद्यमीलाई प्रोत्साह गर्ने नीति अनुसार अचार उत्पादन गर्दैै आएकी मगरलाई सम्मान गरिएको भट्टराईले बताए ।
महासंघका उपाध्यक्ष विष्णु थापाले महासंघले नयाँ वर्षमा सदस्य विस्तारसँगै नविकरण कल्याणकारी कोष स्थापना तथा कार्यविधि बनाउने जानकारी दिइन् ।
महासंघका जिल्ला अध्यक्ष ध्रुवकुमार धितालको सभापतित्वमा शुभकामना आदान–प्रदान,भित्ते पात्रो बिमोचन तथा उद्योगि सम्मान कार्यक्रम सम्पन्न भएको हो ।