काठमाडौं,३० चैत ।
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । अर्का प्रत्यासी रामचन्द्र संघाइ पहिलो चरणको निर्वाचनबाट बाहिरिएपछि अञ्जन र उमेशबीच पुनः प्रतिस्पर्धा हुने भएको हो ।

बुधबार भएको निर्वाचनको सबै मत परिणाम आज बिहान सार्वजनिक हुँदा कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि सबैभन्दा धेरै मत पाएका अञ्जन र उमेशबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।

अञ्जनले ३७.९९ प्रतिशत मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी उमेशलालले ३१.७१ प्रतिशत मत प्राप्त गरे । ३०.४६ प्रतिशत मत पाएका संघाइ दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतःअध्यक्ष हुने व्यवस्था छ ।