काठमाण्डाै,३० चैत ।
नेपाल उद्योग वाणिज्य महासंघकाे जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।
जिल्ला नगर उपाध्यक्षमा विजयी वैघले ४३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी दिनेश श्रेष्ठले ३४ र अरुणराज सुमार्गीले ३७ मत प्राप्त गरे । वैद्य रामचन्द्र संघाई पक्षका हुन् ।
त्यस्तै, वस्तुगत उपाध्यक्षमा विजयी ढकालले ६१ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले ७ मत पाएका निर्वाचन समितिले जनाएको छ ।
ढकाल उमेशलाल श्रेष्ठ समूहका हुन् । वरिष्ठ उपाध्यक्ष पदको मतगणना भने सुरु भएको छैन । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाई र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन् ।
महासंघकाे विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । यो व्यवस्था अनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष हुनेछन् ।
महासंघकाे ५७ औँ वार्षिक साधारण सभाले आउँदो तीन वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गरेकाे हो ।
नयाँ नेतृत्व चयनका लागि हिजो मतदान भएको थियो ।






