काठमाडौँ,२९ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेको छ । बुधबार साँझ पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरी पार्टी सभापति रवि लामिछानेले श्रेष्ठलाई निस्काशन गरिएको जानकारी गराएका हुन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाइँसँग दुई करोड घुस डील गरेको अडियो सार्वजनिक भएपछि त्यसबारे निर्णय गर्न रास्वपाको बुधबार केन्द्रीय समिति बैठक बसेको थियो । बैठकपछि पत्रकार सम्मेलन गर्दै पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति लामिछानेले जानकारी दिए ।
सदस्यता खारेज भएसँगै उनको सांसद पद पनि जाने छ ।
पुस अन्त्यमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।
यो अडियो सार्वजनिक भएपछि रास्वपाले पार्टीको अनुशासन समितिले छानबिन थालेको थियो । बुधबार केन्द्रीय समितिको बैठकमा समेत उनलाई बोलाएर सोधिएको थियो । बैठकमा श्रेष्ठले अडियो आफ्नो होइन भनेको सभापति रविले बताए । उनले अगाडि भने, ‘पार्टीले गरेको छानबिनमा त्यो अडियो उहाँकै हो, त्यसमा पैसा मागिएको छ । सांसदले त्यसरी माग्नु कारबाहीका लागि यथेष्ट छ ।’
लेनदेन भएको नदेखिए पनि पैसा मागेको अडियो उहाँकै भएकाले कारबाही गरेको सभापति लामिछानेले बताए । यद्यपि पार्टीको विधान अनुसार श्रेष्ठले पुनरावेदन भने गर्नसक्ने उनले बताए ।






