काठमाडौँ,२७ चैत ।
अर्थमन्त्री प्रकाशशरण महतले निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नहुने बताएका छन् ।
सोमबार राजधानी काठमाडौंमा आयाेजित नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधरणसभामा बोल्दै अर्थमन्त्री महतले आर्थिक वृद्धि र उद्योग व्यवसायको बिस्तार निजी क्षेत्रको काँधमा भएको भन्दै निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नभएको बताएका हुन् ।
आर्थिक गतिविधिलाई चलायमान बनाउन राज्यको लगानीले मात्रै नपुग्ने उनको भनाइ छ ।
बाहृय र स्थानीय लगानीलाई प्रबर्द्धन नगरी आर्थिक समृद्धिको लक्ष्य पूर्ति हुन नसक्ने दाबी गर्दै उनलेे निजी क्षेत्र सरकारको साझेदार भएको भन्दै राज्य र निजी क्षेत्रको साझेदारीमा मात्रै अर्थतन्त्र अगाडि बढाउन सकिने बताए ।
बाहृय र स्थानीय लगानीलाई प्रवर्द्धन नगरी आर्थिक समृद्धिको लक्ष्य पूर्ति हुन नसक्ने उनले बताए ।
सरकार सामाजिक सेवा र पूर्वाधारको विकासमा मुख्य रुपमा केन्द्रित हुने भन्दै उनलेे अर्थमन्त्रीको तर्फबाट आफूले कुनैपनि कसर बाँकी नराख्ने प्रतिवद्वता ब्यक्त गरे ।






