काठमाण्डौ,२६ चैत ।
शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबले संकटा क्लबलाई हराएको छ ।
दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले संकटालाई २–१ गोलले हराएको हो ।
जीतका लागि मच्छिन्द्रका विमल घर्तिमगर र हाफिज ओलावालेले गोल गरे । संकटाका मनिष डाँगीले एक गोल फर्काए । जितसँगै मच्छिन्द्र ७ खेलमा ९ अङ्कसहित सातौँ स्थानमा पुगेको छ भने ९अङ्क नै रहेको संकटा आठौँ स्थानमा रहेको छ ।
आजै एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी) ले हिमालयन शेर्पालाई २–१ गोलले हरायो । एनआरटीका लागि रोहन खड्की र जेनिश प्रजापतिले गोल गरे । हिमालयन शेर्पाका खमिल गिल्सनले १४ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाए पनि जिताउन भने सकेनन् । एनआरटीको ६ अङ्क र हिमालयन शेर्पाको ७ अङ्क छ ।






