काठमाडौ,२४ चैत ।
भारतमा एकै दिन छ हजार भन्दा धेरैजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भारतमा केही दिनदेखि कोरोना संक्रमण बढिरहेकोमा पछिल्लो २४ घण्टामा छ हजार ५० जनामा संक्रमण पुष्टि भएको भारतका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
एकै दिन संक्रमण पुष्टि भएको यो संख्या भारतमा पछिल्लो दुई सय तीन दिनयताकै उच्च रहेको पनि बीबीसीको खबरमा उल्लेख छ । पछिल्लो २४ घण्टामा थपिएको संख्यासँगै भारतमा सक्रिय संक्रमितको संख्या २८ हजार तीन सय तीन जना पुगेको छ ।
यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ जनाको मृत्युु गएको छ । पछिल्लो समय भारतमा कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी १.१६ फैलिरहेको छ । भारतमा गएको जनवरीमा पहिलो पटक यो भेरिएन्ट देखिएको हो ।





