काठमाडौँ,२३ चैत ।
‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक भएको छ ।
नेकपा एमालेसहित ७ दलीय सत्ता गठबन्धन भत्किएसँगै नेपाली काँग्रेससहितको १० दलीय गठबन्धनको सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक भएको हो ।
आन्तरिक तथा बाह्य कारण मुलुकमा व्याप्त आर्थिक संकटका बीच सरकारले ल्याएको साझा न्यूनतम कार्यक्रमले खासगरी राजस्व संकलन र खर्च कटौतीलाई प्राथमिकता दिने कार्यक्रम ल्याएको छ ।
वित्तीय संघीयताको मान्यताअनुरूप स्रोत साधनको बाँडफाँट, कृषि, पर्यटन तथा उत्पादनमा जोड दिने र राजस्व प्रशासनलाई चुस्त, दुरुस्त तथा करदातामैत्री बनाउने सरकारको साझा कार्यक्रममा समेटिएको छ ।
कर छली, आयातमा न्यून विजकीकरण, चोरी पैठारी, तस्करी तथा हुण्डी कारोबारजस्ता गतिविधिको अन्त्य गर्ने प्रतिवद्धता समेत सरकारले आफ्नो साझा न्यूनतम कार्यक्रममा समेटेको छ ।
बिहीबार सार्वजनिक गरिएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा सरकारका ९ प्राथमिकता समेटिएको हो ।
जसमा संविधानको रक्षा र आवश्यकताअनुसार परिमार्जन÷विकास, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयन गर्ने विषय समेटिएको छ ।
यस्तै देशको अर्थतन्त्र रूपान्तरण र सुदृढ गर्न नीतिगत, संरचनागत तथा कार्यगत सुधार गर्ने, समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय सबै प्रकारका विभेदहरूको अन्त्य गरी समता, स्वतन्त्रता एवम् न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने उल्लेख छ ।
यसैगरी गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने , भ्रष्टाचारको छानबिन गरी कडा कारबाही गर्ने उल्लेख छ ।
यस्तै शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरूसँग भएका सहमतिहरूको कार्यान्वयन गर्ने, उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने पनि उल्लेख छ ।
यस्तै खर्च कटौती र प्रशासनिक झमेलाको अन्त्यका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउने, जलवायु परिवर्तन, जैविक विविधता ह्रास र वातावरणीय प्रदूषण जस्ता विश्वव्यापी संकटले उत्पन्न गरेको जोखिम न्यूनीकरण गरी पर्यावरणीय सन्तुलन कायम गर्ने उल्लेख गरिएको छ ।
राष्ट्रिय हितको रक्षा एवम् जनताको समृद्धिका लागि स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने पनि संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा उल्लेख छ ।






