बुटवल,२१ चैत्र ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सके सदनबाट नसके सडकबाट हिन्दुराष्ट्र कायम गराएरै छाड्ने बताएका छन् ।
आजदेखि बुटवलमा सुरु भएको विश्व हिन्दु महासंघ नेपालको महासभा तथा आठौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
जनताले विश्वास गरे दुई तिहाई बहुमत ल्याएर हिन्दुराष्ट्र कायम गर्ने र जनताले हतार गरे काठमाडौं घेरेर भए पनि हिन्दुराष्ट्र कायम गराएरै छाड्ने उनको भनाई थियो ।

राजनीतिबाटै नेपाललाई धर्मनिरपेक्षता घोषणा गरिएको बताउँदै उनले राजनीतिबाटै नेपाललाई फेरि हिन्दुराष्ट्र कायम गर्न सकिने विश्वास ब्यक्त गरे ।
विश्व हिन्दु महासंघले नेपाललाई हिन्दुराष्ट्र कायम हुनु पर्छ भन्दैमा नहुने बताउँदै पुर्व उपप्रधानमन्त्री समेत रहेका लिङदेनले हिन्दुराष्ट्रको एजेण्डा बोक्ने एकमात्र पार्टी राप्रपालाई साथ दिए मात्रै नेपाल हिन्दु राष्ट्र कायम हुन सक्ने बताए । धर्मनिरपेक्षता राज्य बनाउने प्रस्ताबक र समर्थकलाई भोट दिएर नेपालमा हिन्दुराष्ट्र कायम हुन नसक्ने भन्दै उनले हिन्दुराष्ट्रको वकालत गर्ने एक मात्र पार्टी राप्रपालाई साथ दिन आग्रह गरे ।
कार्यक्रममा विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष रामचन्द्र अधिकारीले नेपाललाई हिन्दुराज्य कायम गर्नु नै महासंघको मुख्य उद्देश्य रहेको बताउदै त्यसका लागि बलिदान दिनुपरे पनि आफु तयार रहेको बताए ।
राष्ट्रको रक्षाको लागि नेपाललाई हिन्दुराज्य कायम, बेद शिक्षालाई पाठ्यक्रममा समावेश , आयुर्वेद शिक्षामा जोड र भ्रष्ट्राचार रोक्नको लागि महासंघ लागि परेको उनले बताए ।
कार्यक्रममा सन्त समाज नेपालका अध्यक्ष ज्ञाननन्द स्वामी, पुर्वमन्त्री दीपकुमार उपाध्याय,भारतको गुजरात स्थित मन्दिरका स्वामी घनश्याम,विश्व हिन्दु महासंघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष बेन बहादुर पौडेल,महासंघ रुपन्देहीका अध्यक्ष महेश्वरमान श्रेष्ठ,विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाह लगायतले आ आफ्नो भनाई राखेका थिए ।
,७७ जिल्लाका १५ सय भन्दा बढि प्रतिनिधिहरुको सहभागिता रहेको महाधिवेशनले महासंघको नयाँ नेतृत्व चयन गर्ने छ ।






