बुटवल,१९ चैत ।
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले भैरहवाको पशुपति शिक्षा मन्दिरमा कम्प्यूटर ल्याव स्थापना गरिदिएको छ ।
क्लवको स्थापना दिवसको अवसरमा आईतबार विद्यालयमा आयोजना गरिएको कार्यक्रममा डिष्ट्रिक ग्राण्ड वर्ष २०२२–०२३ अन्तरगत क्लवले १० वटा कम्प्यूटर सहितको ल्याव स्थापना गरिदिएको हो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ६ भैयाटोलमा रहेको उक्त विद्यालयमा स्थापना गरिएको कम्प्यूटर ल्यावको रोटरी डिष्ट्रिक गभर्नर ईलेक्ट राजेन्द्र ध्वजूले उद्घाटन गरेका हुन् । त्यस अवसरमा बोल्दै उनले विद्यालयमा कम्प्यूटर ल्याव स्थापनासँगै बालबालिकालाई कम्प्यूटर शिक्षा प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे ।
उनले क्लवको पहिचान हुने खालको परियोजना डिष्ट्रिकमा ल्याउन आग्रह गर्दै त्यसमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए । उनले आफ्नो कार्यकालमा कार्यक्रम छर्ने भन्दा पनि परिणाम आउने कार्यक्रमलाई प्राथमिकता दिने बताउँदै क्लवहरुलाई पनि त्यस्ता परियोजना निर्माण गर्न आग्रह गरे ।
क्लवका अध्यक्ष विष्णुप्रसाद भण्डारीले विद्यालयको आवश्यकताको आधारमा उक्त विद्यालयमा ग्लोवल ग्राण्ड अन्तरगतको कार्यक्रम ल्याईएको बताउँदै त्यसबाट विद्यार्थीले जतिसक्दो धेरै लाभ लिनुपर्नेमा जोड दिए । विद्यालयको आवश्यकताको आधारमा यस अगाडि पनि क्लवले सहयोग गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि सहकार्य भईरहने विश्वास व्यक्त गरे ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका सचिव उमाशंकर पाठकले २०५९ सालमा विद्यालयको स्थापनासँगै सरकारी पाठ्यक्रम सहित नैतिक तथा आध्यात्मिक शिक्षा प्रदान गर्दै आएको जानकारी गराए । उनका अनुसार यो विद्यालयमा अहिले ३५० विद्यार्थी अध्ययनरत छन् ।
कार्यक्रममा रोटरी रिजन ५ का सचिव नरबहादुर श्रीस, क्लवका पूर्व अध्यक्ष बालकृष्ण अर्याल, उपाध्यक्ष निरञ्जन पोखरेल, मेम्बरशिप कमिटि चियर देवीलाल भट्टराईले भनाई राखेका थिए ।
संस्थापक सदस्यलाई सम्मान
क्लवको चार्टर डे को अवसरमा आयोजित उक्त कार्यक्रममा चार्टर मेम्बर (संस्थापक सदस्य)हरुलाई सम्मान गरिएको छ । त्यस अवसरमा क्लवका संस्थापक सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको क्लवका सचिव शंकर पाण्डेले जानकारी गराए । जाउलाखेल मञ्जुश्री क्लवको स्पोन्सरमा सन् २०१२ मा २२ जना सदस्यहरुबाट क्लव स्थापना गरिएको थियो । हाल यो क्लवमा ४१ जना सदस्य रहेको क्लवले जनाएको छ ।






