काठमाण्डौ,१६ चैत ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
शुक्रवार बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सुरु हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
यस बर्ष राष्ट्रिय ४ लाख ८५ हजारले एसईई दिने बोर्डका अध्यक्ष शर्माले बताए ।
७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत बैठक सम्पन्न भएको भन्दै उनले परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थितरूपमा सम्पन्न गराउन आह्वान समेत गरे ।
सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ति, सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पु¥याउनेलगायतका सबै काम सकिएको शर्माले जानकारी दिए ।
एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयको आयोजनामा सात प्रदेशका प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रालयका सचिवहरू, सातै प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशकहरू, ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरू, राष्ट्रिय परीक्षा बोर्डका प्रदेश र शाखा कार्यालयका प्रमुखहरू, बोर्डका अध्यक्ष, सदस्य सचिव, परीक्षा नियन्त्रण, उपनियन्त्रक कर्मचारीलगायतको भर्चुअल बैठक सम्पन्न भएको बताए ।
उनले प्रत्येक प्रदेशमा प्रदेश सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेश भित्रका परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्ने बताए ।
त्यस्तै प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखहरूलगायत रहने गरी गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति, सरोकारवालालाई प्रशिक्षण गर्ने, प्रश्नपत्र प्रहरी निकायसम्म पु¥याउने, उत्तर पुस्तिका परीक्षा केन्द्रसम्म पु¥याउने र आवश्यक समन्वय गर्ने कामसमेत पूरा भएको उनको भनाइ छ ।
यस वर्षका लागि परीक्षामा सहभागी हुन २०७८ मा कक्षा ९ मा रजिस्ट्रेशन भर्ने विद्यार्थी पाँच लाख १६ हजार पाँच सय ९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा चार लाख ८४ हजार दुई सय २७ जनाले फारम भरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार कक्षा ९ बाट १० मा आउँदा ३२ हजार तीन सय ६४ विद्यार्थी घटेका छन् ।
परीक्षामा सबैभन्दा धेरै बाग्मती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ विद्यार्थी सहभागी हुँदैछन् । प्राविधिक धारतर्फ झन्डै १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदैछन् ।
यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरी ११ हजार आठ सय २९ विद्यालय एसईईमा सहभागी हुँदैछन् । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी दुई हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए ।






