बुटवल,१३ चैत ।
धनगढीबाट सुरु भएको राष्ट्रका लागि संगीत अभियात्रा सोमबार बुटवलमा आयोजना गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिब नेत्रविक्रम चन्द विप्लब, नेकपा एमालेका नेता तथा संगीतकार
मणि थापा,नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुर्दशन बराल लगायतका नेताहरुको उपस्थितीमा बुटवलमा सांगितीक प्रस्तुती गरिएको हो ।

कार्यक्रममा जनगायक जीवन शर्मा लगायत एक दर्जन बढि कलाकारले प्रस्तुती दिएका थिए । राष्ट्र र राष्ट्रियता अफठ्यारोमा परेको बेला कलाकारहरु एकै ठाउंमा भएजस्तै कम्युनिष्ट पार्टीका नेताहरु पनि एक ठाउं उभिने वेला आएको कलाकारहरुले गीत मार्फत सन्देश दिएका थिए ।

रक्तिम सांस्कृतिक अभियानका पूर्व अध्यक्ष जनगायक जीवन शर्माको अगुवाईमा सञ्चालन भएको राष्ट्रका लागि संगीत अभियात्रा आगमी बैशाख ५ गते काठमाण्डौको प्रज्ञाभवनमा समापन गरिने छ ।

राष्ट्र, देश र जनता अफठ्यारोमा परेको महशुस गरी सांस्कृतिक रुपमा जनतालाई सचेत गराउने उद्देश्यले राष्ट्रका लागि संगीत अभियात्रा सञ्चालन गरिएको रक्तिम सांस्कृतिक अभियानका पूर्व अध्यक्ष जीवन शर्माले बताए ।

नेकपा एमोका नेता तथा संगीतकार मणि थापाले कम्युनिष्ट आन्दोलनलाई सहयोग पुराउने गरी राष्ट्रका लागि संगीत अभियात्रा सञ्चालन गरिएको बताए ।

अर्का संगीतकार चिरन पुनले गलत कामको विरोध, वामपन्थी पार्टीबीच एकताको सन्देश दिन र राष्ट्रलाई वलियो बनाउने उद्वेश्यले राष्ट्रका लागि संगीत अभियात्रा अभियानको रुपमा सञ्चालन गरिएको प्रतिक्रिया दिए ।

वामपन्थी शक्तिलाई एक ठाउंमा ल्याउन, राजनीतिक र सांस्कृतिक क्रान्ति पुरा गर्नका लागि समाजलाई सांस्कृतिक रुपान्त्रण गर्ने संगीत अभियात्राको उद्देश्य रहेको आयोजकले जनाएका छन् । यसअघि धनगढी, सुर्खेत, घोराहीमा सास्कृतिक कार्यक्रम सम्पन्न भइसकेको छ ।