नवलपरासी,१३ चैत ।
पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा फेला परेका नौ वटा बमलाई सोमवार नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।

जिल्लाको कावासोती–१ मा रहेको नेपाली सेनाको २ नम्बर वन तथा पर्यावरण सुरक्षा गण हात्तीखोरको टोलीले सबै बमलाई निष्क्रिय बनाएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।

प्रहरी प्रमुख तिवारीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले आइतवार फेला परेका ८१ एमएम मोटरको बम (गोला) लाई निष्क्रिय बनाएको हो ।

आइतवार बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । स्थानीय रुकेश सरामुका अनुसार बालबालिकाले जंगल नजिकै रहेको बारीमा ती बमका गोला देखेका थिए । जंगलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौ वटा बम फेला पारेका थिए ।