काठमाडौं,१३ चैत ।
‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै पेश भएको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ ।

रामेछापका कल्याण बुढाथोकी लगायत द्वन्द्वपीडितहरूले ‘जनयुद्ध दिवस’ खारेज गर्नुपर्ने मागसहित आइतबार सर्वोच्चमा रिट पेश गरेका थिए ।

सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले कहिले विदा दिने वा कहिले नदिने कहिले उत्सव मनाउने वा कहिले नमनाउने भन्ने विषयमा नीतिगत निर्णय गर्न सक्ने राज्यको कार्यकारी निकायको क्षेत्राधिकारको विषय भएको भन्दै जनयुद्ध दिवसविरूद्ध परेको रिट दरपीठ गरिदिएका हुन् ।

यसअघि सर्वोच्च अदालतको एक इजलासले कहिले र कुन समयमा बिदा दिने भन्ने सरकारको नीतिगत विषय भएको भन्दै गरेको निर्णयलाई पनि उनले यो रिट दरपीठ गर्दाको आधार मानेका छन् ।

सरकारले गत फागुन १ गते ‘जनयुद्ध दिवस’ का दिन सार्वजनिक बिदासमेत दिएको थियो । मन्त्रिपरिषदले आगामी वर्ष पनि फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

‘जनयुद्ध दिवस’ लाई सरकारले उत्सवका रूपमा मनाउन लागेको भन्दै आलोचनासमेत भएको थियो ।