हेटौंडा,१० चैत ।
नेकपा एमालेका ४ मन्त्रीले बागमती प्रदेश सरकारबाट राजीनामा दिएका छन् । सरकारमा सहभागी एमालेका ४ मन्त्रीहरुले प्रदेशसभा सचिवालय हेटौंडामा मुख्यमन्त्री शालिकराम जम्कट्टेल समक्ष राजीनामा बुझाएका हुन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा सरकारको समर्थन र राजीनामा घोषणा गरेको एमालेले प्रदेशसभा बैठक सञ्चालन कै क्रममा मुख्यमन्त्री जम्कट्टेल समक्ष राजीनामा बुझाएका हुन् ।

एमाले गत पुस २६ गते एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी भएको थियो । नेता थपलियाले शुक्रबारको प्रदेशसभाबाट बोल्दै गरेर सरकारबाट बाहिरिएको र सशक्त प्रतिपक्षको भूमिकामा रहने घोषणा गरेका थिए ।

नेता थपलिया प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रहेका थिए भने एमालेका एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायातमन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री नियुक्त भएका थिए । एमालेका ३ जना मन्त्री गत माघ १० गते नियुक्त भएका थिए ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपा मिलेर पुष २६ गते प्रदेश सरकार बनेको थियो भने माघ ११ गते सरकारले पूर्णता पाएको थियो ।

यसअघि राप्रपाका ३ जना मन्त्रीले फागुन १३ गते प्रदेश सरकारबाट बाहिरिदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएका थिए ।