बुटवल, ७ चैत ।
बुटवल स्थित कालिका मानवज्ञान माविमा कानून अध्ययनरत विद्यार्थीहरुले विद्यालयमै अदालती अभ्यास
गरेका छन् ।

कालिका मानवज्ञान माविमा गठीत कानून विद्यार्थी समाजको आयोजनामा २ दिने अदालती अभ्यास गरेका हुन् ।
अदालती अभ्यास कार्यक्रमको समापनमा बोल्दै सर्वोच्च अदालतका पुर्व न्यायाधीश तेज बहादुर केसीले कानूनका विद्यार्थीहरुलाई किताबी ज्ञानका अलावा व्यावहारिक अभ्यास जरुरी भएको बताए ।

अदालती अभ्यासले मुद्धा दर्ता गर्नेदेखि अदालतमा गर्नुपर्ने प्रक्रिया बुझेको जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने भन्दै उनले कानून पढाउने सबै स्कूल र क्याम्पसहरुले अदालती अभ्यासलाई शिक्षकको अनिवार्य उपायको रुपमा अवलम्बन गर्नुपर्ने बताए. । उनले अदालतमा अपनाउनुपर्ने कार्यविधिको बारेमा कानून व्यवसायी र अदालतका कर्मचारीले मात्र नभएर सामान्य नागरिकले पनि जानकारी लिन सकेमा न्याय सम्पादन कार्य सहज र वस्तुनिष्ठ हुने बिचार ब्यक्त गरे ।

राष्ट्रिय मानवअधिकार आयोग प्रदेश कार्यालय बुटवलका प्रमुख सोमनाथ सुवेदीले शिक्षाले अन्यायको विरुद्धमा आवाज उठाउन सक्ने बनाउनुपर्ने बताउदै शिक्षित महिलाहरु अझैपनि अन्याय सहेर बसेका उदाहरण प्रस्तुत गरे ।
उनले कानून विषयको अध्ययनमा महिलाहरुको रुची तथा उपस्थिति बढेकोले भविष्यमा सबै किसिमका अन्याय र विभेदका विरुद्ध सशक्त आवाज उठ्ने र मानवअधिकारमैत्री समाजको निर्माण हुने विश्वास ब्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यार्थीहरुले आफै संलग्न भएर गरेका कार्यक्रमले दिगो र व्यावहारिक सिकाई हुने भएकोले कालिकाले विद्यार्थीहरुलाई नै प्रत्यक्ष संलग्न गराएर व्यावहारिक अभ्यास गराउने गरिएको बताए ।

व्यावहारिक कानूनी अभ्यास अन्तर्गत २ दिने अभ्यास अदालत कार्यक्रमको दोश्रो दिनमा विद्यालयको सभाहललाई अदालतको स्वरूप दिएर विद्यार्थीहरुले देवानी र फौजदारी मुद्दामा अदालत भित्र गरिने सम्पूर्ण प्रक्रियाहरुलाई प्रस्तुत गरेका थिए । अदालतका कर्मचारी, न्यायाधीश, कानून व्यवसायीदेखि प्रहरीसम्मको भूमिकामा विद्यार्थीहरु रहेका थिए । सुमिना सापकोटाको काल्पनिक मुद्दामा बादीको तर्फबाट प्रशंसा खनाल, कविता खनाल, अधिशचन्द्र खनाल, घनश्याम बिकले र प्रतिवादीको तर्फबाट खुशी बिक, वर्षा पाण्डे, अन्जना तिवारी र पार्वती खत्रीले बहस पैरवी गरेका थिए । उक्त मुद्दामा न्यायाधीश बनेकी आकृति श्रेष्ठले महिलाले लगाएको पोशाक र सामाजिक संजालमा बिताएको समय तथा पोष्टको आधारमा खराब आचरण भएको मान्न नहुने र यसैको आधारमा अन्याय गर्न नपाईने फैसला गरेकी थिइन् ।

त्यस्तै ज्यान सम्बन्धी उद्योग सम्बन्धी अर्काे काल्पनिक मुद्दामा आशिष पाण्डेले न्यायाधीशको भूमिका निर्वाह गरेका थिए । सन्जु अधिकारीको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा सरकारी वकिलको रुपमा अस्मिता शर्मा, विनिता अर्याल, रोशिका आचार्य, अंशुप्रिया झा र विपना सारुले वहस गरेका थिए भने अभियुक्तको तर्फबाट यादव पन्थी, सुशिला भण्डारी, सन्ध्या न्यौपाने र सन्ध्या खनालले वहस गरेका थिए । अभ्यास अदालतमा सुष्मिता पोख्रेल र अरुणा काफ्लेले श्रेस्तेदार तथा अमृता घर्ती र चन्द्रकला थारुले इजलास अधिकृतको भूमिका खेलेका थिए । अभ्यास अदालतमा अधिवक्ता ज्ञानु केसीले विद्यार्थीहरुलाई सहजीकरण तथा प्रशिक्षण दिएकी थिईन् ।

कानून विद्यार्थी समाज कालिकाका अध्यक्ष आशिश पाण्डेको अध्यक्षतामा भएको अदालती अभ्यास कार्यक्रम समाजकी सचिब विनिता अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

कालिकामा हाल १९० जना विद्यार्थीहरुले कानून बिषय अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।