काठमाण्डाै,२९ फागुन ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिद्युतीय गाडी प्रयोग गर्न सबैलाई आह्वान गरेका छन् ।

सोमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले बिद्युतीय गाडी प्रयोग गर्न सबैलाई आह्वान गरेका हुन् । बिजुलीमा गरिएको लगानी सँगसँगै बिजुली खपत पनि बढाउने कार्ययोजना रहेकाले भन्दै उनलेे साेहीअनुरूप बिद्युतीय गाडीहरू आइरहेकाे बताए ।

पेट्रोल तथा डिजलबाट चल्ने गाडीहरूभन्दा बिजुलीबाट चल्ने गाडी कैयाैँ गुणा सस्तो पर्ने उनको भनाइ थियो ।

घिसिङले बिद्युतीय गाडीकाे प्रयाेगले प्रदूषण पनि घट्ने भन्दै
बिद्युतीय गाडी प्रयोग गर्दा फाइदामात्रै हुने दाबी गरे । उनलेे वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले बिद्युतीय गाडी नै उपयुक्त भएको बताए ।

उनले भने, ‘बिजुलीकाे खपत बढाउने कार्ययोजनाअन्तर्गत बिजुली गाडीहरू आइरहेको छ, त्यसका लागि सबैलाई बिजुली गाडी प्रयाेग गरिदिनुहुन आह्वान गर्छु । बिजुली गाडीकाे फाइदामात्रै छ । बिजुली स्कुटरमा प्रतिकिलाेमिटर २५ पैसादेखि ३० पैसा खर्च लाग्छ । जबकि पेट्रोल, डिजलबाट चल्ने स्कुटरमा प्रतिकिलोमिटर १०/१२ रुपैयाँ खर्च हुन्छ । त्यस्तै बिजुली गाडीमा प्रतिकिलाेमिटर खर्च एक रुपैयाँभन्दा कम छ, ६० पैसादेखि ९० पैसाको हाराहारीमा । जबकि पेट्रोल, डिजलबाट चल्ने गाडीमा प्रतिकिलाेमिटर १५/२० रुपैयाँ खर्च पर्छ । बिजुली गाडीमा मर्मत खर्च पनि निकै कम हुन्छ । बिजुली गाडीकाे प्रयाेगले प्रदूषण पनि घट्छ । आउँदा दिनमा सबैले बिजुली गाडी प्रयोग गरौँ ।’

कार्यकारी निर्देशक घिसिङले नेपालमा बर्खायाममा पर्याप्त बिजुली रहेको भन्दै आउँदाे दुई वर्षभित्रमा हिउँदयाममा पनि बिजुली पुग्ने बताए ।