काठमाण्डौ,२८ फागुन ।
आगामि चैत ३ गते शुक्रवार हुने उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका चारै जनाको उम्मेदवारी कायम भएको छ ।

निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवारी दिएका कसैले पनि नाम फिर्ता नलिएपछि उपराष्ट्रपतिमा चारै जनाको उम्मेदवारी कायम भएको हो । उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जनता समाजवादी पार्टी नेपालबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव, जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदको उम्मेदवार रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।
उनले भने, ‘नाम फिर्ता लिने समय आज दिउँसो १ देखि ४ बजेसम्मको थियो । कुनै पनि उम्मेदवारले नाम फिर्ता लिनुभएन र हामीले अहिले अन्तिम नामावली प्रकाशित गरिसकेका छौँ । अष्टलक्ष्मी शाक्य बोहरा, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव हुनुहुन्छ ।’

यसअघि निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको थियो ।

यादवको उम्मेदवारी खारेजको माग गर्दै नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।