काठमाडौँ,२३ फागुन ।
नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको नाै दलीय गठबन्धनले राष्ट्रपति चुनावका लागि भोलि बुधवारसम्ममा काठमाण्डौ आइपुग्न सांसदहरुलाई निर्देशन दिएको छ ।
मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको नाै दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न निर्देशन दिएको हो ।
बैठकले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुलाई भोलिसम्म काठमाडौँ आइपुग्न सर्कुलर गर्ने निर्णय गरेको जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए ।
यस्तै बैठकले शतप्रतिशत भोट खस्ने गरी पहल गर्ने पनि नाै दलले निर्णय गरेका छन् । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मंगलबारदेखि निर्वाचन आचारसंहिता समेत लागु गरेको छ ।






