काठमाडौँ २१ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अराजक तत्वहरूले वित्तीय अराजकता निम्त्याउने कोसिस गरिरहेको बताएका छन् । उनले यस्ता परिघटनाहरूलाई आफूले गम्भीर रुपमा लिएको र बैंक तथा वित्तीय क्षेत्रका समस्या सुल्झाउन पहल गरिरहेको बताए ।

आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धी बैठकमा प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषयमा गभर्नर, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमै रहेको उल्लेख गर्दै उनले आफू प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् मन्त्रिपरिषदको पहिलो बैठकमा नै अर्थतन्त्रका समस्या समाधानका निम्ति निजी र सार्वजनिक क्षेत्रको सहकार्यमा अगाडि बढ्ने निर्णय गरिएको स्मरण गरे । ‘सरकार अर्थतन्त्रका चुनौती समाधान गर्न तल्लीन छ । बैंक र लघुवित्तका क्षेत्रमा जनताका गुनासोप्रति म जानकार र सचेत छु । यसलाई के–कसरी समाधान गर्न सकिन्छ, तपाईहरूको सुझावको अपेक्षा गरेको छु । परिआए समस्या समाधानका निम्ति उच्चस्तरीय आयोग नै बनाउनुपर्ने पनि हुन सक्छ।’

बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वर्तमान अर्थतन्त्रको अवस्थाबारे संक्षिप्त विषय राख्दै अर्थतन्त्रका सूचकहरू सकारात्मक दिशातर्फ अग्रसर भइरहेको बताए । बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरू र बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले निजी क्षेत्रको अवस्थाको चर्चा गर्दै बैंक तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकारलाई विभिन्न सुझाव प्रस्तुत गरे । छलफलमा नेपाल सरकारका मुख्यसचिव, अर्थमन्त्रालयका सचिव, उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू, विभिन्न व्यवसायिक संगठनका प्रतिनिधिहरू, बैंकर एसोसिएसन लगायत वित्तीय क्षेत्रका प्रतिनिधिहरू उपस्थित थिए ।