बागलुङ,१८ फागुन ।
बागलुङमा दुई वर्षीया बालिकाको हत्या आरोपमा उनका बाबु पक्राउ परेका छन् । २ वर्षकी आरिसा दिनको हत्या आरोपमा
बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा बस्ने २० वर्षका सायर दिन पक्राउ परेका हुन् ।

घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेर हत्या गरेको बताइएको छ । टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमा नै मृत्यु भएको बागलुङका प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका उनले प्रारम्भिक सोधपुछका क्रममा छोरीको हत्या स्वीकार गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

छोरीको हत्यापछि घर छोडेर भागेका दिनलाई गाउँमै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

अहिले बालिकाको शव पोष्टमार्टमका लागि धौलागिरि अस्पताल बागलुङमा राखिएको छ । सायरले के कारणले छोरीको हत्या गरे भन्ने विषयमा अझै नखुलेको र अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।