काठमाण्डाै,१८ फागुन ।
राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाएकि छन् ।
बिहीबार संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको कुराकानीमा उपाध्यक्ष अर्यालले उक्त आरोप लगाएकि हुन् । नेकपा एमालेले जुन विधेयक लगे पनि पास गर्ने तर अन्य पार्टीहरूले लगेको विधेयक पास नगर्ने गतिविधिका कारण राष्ट्रपति एमालेको मात्रै भएको उनलाई भनाइ थियो । नागरिकता विधेयक राष्ट्रपतिले संसदबाट दुई पटक पास गरेर लैजाँदासमेत फर्काउनु गलत भएको दाबी गर्दै उनले दुई पटक लैजाँदासमेत विधेयक पास नगर्नु पीडादायी रहेको उल्लेख गरिन् ।
उपाध्यक्ष अर्यालले भण्डारीले राष्ट्रपतिजस्तो पदमा बसेर अरूको इसारामा नागरिकता विधेयक रोकेको दाबी गरिन् । नागरिकता विधेयकको सवालमा राष्ट्रपति भण्डारीले कार्यकारी अधिकार नै प्रयोग गर्ने हिसाबले अघि बढेको उनको आरोप थियो ।
उपाध्यक्ष अर्यालले संवैधानिक पदमा रहेका व्यक्तिहरूले पदको मर्यादा जोगाउन नसके अहिलेसम्मका आन्दोलनबाट प्राप्त उपलब्धिहरू गुम्ने खतरा रहेको बताइन् । संवैधानिक पदमा रहेका व्यक्तिहरूले पार्टीभन्दा माथि उठेर राष्ट्रहितलाई सर्वोच्चतामा राखेर काम गर्नुपर्नेमा जाेड दिइन् ।






