काठमाडौँ,१५ फागुन ।
नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका एमालेका आठैजना मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामापत्र बुझाएका हुन् ।

सोमबार बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । परराष्ट्रमन्त्री बिमला राई पौड्यालले आज दिउँसो साढे ३ बजेपछि प्रधानमन्त्रीलाई पार्टीबाट मन्त्री भएका सबै जनाले राजीनामापत्र बुझाएको जानकारी दिइन् ।

दाहाल मन्त्रिपरिषदमा एमालेबाट विष्णु पौडेलको नेतृत्वमा आठ जना सहभागी थिए । पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री थिए । ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरिप्रसाद उप्रेती रक्षामन्त्री थिए ।

राष्ट्रपति निर्वाचनमा सरकारको नेतृत्व गरिरहेको मा‌ओवादीले कांग्रेससँग सहकार्य गरेपछि एमाले सरकारबाट बाहिरिएको हो ।