काठमाडौँ,१२ फागुन ।
राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न बसेको चुनावअघिको गठबन्धनमा सम्बद्ध चार दलको बैठक सकिएको छ । बिहान साढे ८ बजेबाट प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा सुरु भएको बैठक मध्यान्ह साढे १२ बजे सकिएको हो ।

बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउने बताएका छन् । बालुवाटारमा भएको ४ दलबीचको छलफलमा राष्ट्रपतिबारे विभिन्न कोणबाट राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएपनि पुनः छलफल गर्नुपर्ने भएकाले साँझ ५ बजे अर्को बैठक बसेर टुंग्याउने थापाले बताए ।

थापाले भने, ‘दलहरुबीच एकपक्षीय र बहुपक्षीय छलफल भइरहेको छ । अब आ–आफ्नो पार्टीमा छलफल गर्नु भएकाले साझ ५ बजे पुनः अर्को बैठक बसरेर राष्ट्रपति उम्मेदवार टुंगो लगाउँछौं ।’ त्यस्तै थापाले राष्ट्रपतिबारे विभिन्न कोणबाट छलफल भएको र त्यो सकारात्मक भएको बताए ।

कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी थिए।

यस्तै माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी छन् भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता घनश्याम भुसाल सहभागी थिए भने जसपा अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ छलफलमा सहभागी थिए ।