काठमाण्डौ,१२ फागुन ।
ललितपुरको लगनखेलमा आत्मदाहको प्रयास भएको छ । बिहीबार साँझ त्यहाँको विद्युत प्राधिकरण भवन अघिल्तिर एक जना पुरुषले शरीरमा आगो लगाएका हुन् ।

लगनखेलको प्राधिकरण क्वार्टरमा बस्दै आएका उद्धव पराजुलीले साँझ साढे ७ बजेतिर शरीरमा मट्टितेल खन्याएर आगो लगाएको बताइएको छ । प्राधिकरणमा कार्यरत श्रीमतीसँग उनी स्थानीय क्वार्टरमा बस्दै आएका थिए ।

श्रीमतीकै अघिल्तिर आगो लगाएका उनको शरीरको ४० प्रतिशत भाग जलेको छ । आफन्त र प्रहरीको सहयोगमा आगो निभाएपछि उनलाई उपचारार्थ पाटन अस्पतालमा लगिएको थियो । पछि कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचार भइरहेको छ ।

उनले किन आत्मदाहको प्रयास गरे भन्ने कारण नखुलेको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।