काठमाडौं,११ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिजमा चारै खेल जित्ने नेपाली टिमका खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

विजेता खेलाडीहरूलाई बिहीबार दिउँसो बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले बधाई दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् ।

खेलाडीहरूलाई बधाई दिँदै प्रधानमन्त्रीले भने, ‘सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईंहरूलाई बधाई छ । तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्विप गर्नुभएको छ । यो देशकै गौरव हो ।’

प्रधानमन्त्री प्रचण्डले आउने प्रतिस्पर्धाका लागि शुभकामना दिए ।

सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गरे।