काठमाडौं,१० फागुन ।
खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।
भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत कांग्रेस नेता तथा सांसद भण्डारीलाई मुखबाट खाना खुवाउन थालिएको छ ।
गत बुधबार ग्यास सिलिन्डर विस्फोट भएपछि उनको कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गरिएको थियो । उक्त अस्पतालमा उनको उपचार हुन नसकेपछि बिहीबार थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लगिएको थियो ।
बुधबार बिहान ११ बजेको अपडेटअनुसार उनलाई मुखबाटै खाना खुवाउन थालिएको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिएका छन् । सिवाकोटीका अनुसार सांसद भण्डारीले दोहोरो संवाद गरिरहेका र उपचारबारे आफैंले जानकारी लिइरहेका छन् ।
उनलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्यून रुपमा अक्सिजन दिइएको नेता सिवाकोटीले जनाए । हल्का ईन्फेक्सनको उपचार भइरहेको र ज्वरो आएको नआएको जानकारी दिएका उनले उच्च ईन्फेक्सन नहोस् भनेर अस्पतालले भेटघाट गर्न नदिएको बताए । सांसद भण्डारीको अन्य स्वास्थ्य प्यारामिटर नर्मल रहेको छ ।
सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै नेता सिवाकोटीले फेसबुकमा लेखेका छन्, ‘फागुन–१० बिहान १०.५० बजेको अपडेट अनुसार चन्द्र दाईले दोहोरो संवाद गरिरहनु भएको छ । सवैकुराको जानकारी आफैँ लिइरहनु भएको छ । खाना मुखबाट खुवाउन सुरु भएको छ । भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्युनरुपमा अक्सिजन दिइएको छ । हल्का ईन्फेक्सनको उपचार भईरहेको छ, तर ज्वरो आएको छैन । उच्च ईन्फेक्सन नहोस् भनेर भेटघाट गर्न अस्पतालले दिएको छैन । अन्य स्वास्थ्य प्यारामिटर नर्मल रहेका छन्। अनुहारमा सुन्निएको घटेको छ। स्वास्थ्य सामान्यतर्फ गइरहेको माधव न्यौपानेले मुम्बईबाट जनाएका छन् ।’
सोही घटनामा परेर सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने बिहीबार नै उपचारका क्रममा कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा निधन भएको थियो ।





