बुटवल,१० फागुन ।
बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रतिस्थापन पूजा
गरिएको छ ।
मन्दिरको त्रियोदशीभुवनसहितको गजुर मर्मतसम्भार गरी प्रतिस्थापन पूजा गरिएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु श्रीवजिर प्रेमले मंगलबार परित्राण पाठ गरेर पूजा गराएका हुन् ।
मर्मतसम्भार गरिएको गजुरमा धागो बाँधेर पूजास्थलमा ल्याइएको र सोही धागो समातेर पूजाआजा गरिएको लुम्बिनी बिकास काेषले जनाएको छ । थाई उपासिका रतना मालिनोङ र उपासक लर्टट्रुथ आक्रापास पोंगको ६० लाख बढी सहयोगमा गजुर मर्मत गरिएको हो ।
मालिनोङ थाइल्यान्डकी पूर्वसांसद हुन् भने आक्रापास पोंग व्यवसायी हुन् । उपासक पोंग यही पूजाका लागि भनेर नेपाल आएका थिए । झन्डै तीन महिना लगाएर गजुर मर्मत गरिएको हो । गजुरमाथि सुनको जलप लगाइएको छ । काठमाडौंका मूर्तिकार साजन शाक्यको नेतृत्वमा ६ जनाको टोलीले गजुर मर्मत गरेको काेषले जनाएको छ । काेषका अनुसार गजुरमा ५० तोला सुनको जलप लगाइएको छ ।
झन्डै १२ लाख रुपैयाँ ज्यालामा मात्रै खर्च भएको पोंगले बताए । ‘गजुर मर्मतमा दान गर्न पाउँदा निकै खुसी लागेको उनको भनाइ छ । यहीं आएर बुद्धको पाउ पर्न पाएकामा गतिलै धार्मिक पुण्य सञ्चय गरेको अनुभूति भएकाे पोंगले बताए । पुरातत्त्व विभागसँग अनुमति लिएर लुम्बिनी विकास कोषले गजुरकाे मर्मतसम्भार गरेको हो ।






