भोलिदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने
मुम्बई,९ फागुन ।
एलपीजी ग्यास सिलिण्डरको विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार भएको छ ।उनलाई भोलिदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने अस्पतालले जनाएको छ ।

नेता भण्डारी लाई आज राति पाँच लिटर अक्सिजनमा मात्र रिजरभायर ब्याग मास्कमा राखिने र भोलिसम्म मात्र रिजरभायर ब्याग मास्कमा राखिने उपचार समन्वयमा सँगै रहेका कांग्रेसकै अर्का युवा नेता योगराज कँडेलले जानकारी दिए । उनको यही फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ । नेशनल बर्न सेन्टरका डा. सुनिल केशवानीका अनुसार नेता भण्डारीलाई ‘इटी ट्युब’मा अब राख्न नपर्ने र इन्फेक्सनको मात्रा पनी कम हुँदै गएको छ ।

स्वास्थ्यमा सुधार भएसँगै नेता भण्डारीले आज दोहोरो सम्बाद गर्न सक्षम भएको उनको उपचारका क्रममा सँगै रहेका कांग्रेसकै युवा नेता कंडेलले बताए ।

भण्डारीको अनुहारमा नयाँ छाला उत्साहजनक रुपमा पलाएको तर हातहरूमा अलिअलिमात्र पलाएकाले एक हप्ता अझै हेर्ने, अनि मात्र आवश्यक भएमा हातको ग्राफ्टिङ गर्ने चिकित्सकले जनाएका छन् । उनलाई छिटो सुधार भइरहेकाले अबको चार दिनपछि सायद आइविसियु (इन्टेन्सिभ बर्न केयर युनिट)बाट बाहिर निकाल्न सकिने चिकित्सकले बताएका नेता कँडेलले जानकारी दिए ।

यही फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिन्डरको विस्फोट हुँदा सांसद डा. भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते भएका थिए । घटनालगत्तै दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।

नेता डा. भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि गत बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।