काठमाडौं,९ फागुन ।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाललाई स्कटल्यान्डले २१३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४६.१ ओभरमा २१२ रनमा अलआउट भयो ।

स्कटल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान जर्ज मन्जीले ६० रन जोडे। अर्का ओपनर केल कोइटजर २२ रनमा आउट भए । कप्तान रिची बेरिङटन शून्य र टोमस म्याकिनटोस १ रनमा आउट भए। चारै जनालाई सन्दीप लामिछानेले आउट गरेका थिए ।

क्रिस्टोफर म्याकब्राइटलाई कुशल मल्लले २२ रनमा एलबिडब्लूको धरापमा पारे ।

म्याथ्यु क्रसलाई दिपेन्द्रसिंह ऐरीले ३४.३ ओभरमा ४२ रनमा रनआउट गरे। दिपेन्द्रले डाइरेक्स हिटमार्फत क्रसलाई पेभेलियन फर्काएका थिए । दुई बलपछि करण केसीले माइकल लिस्कलाई शून्यमा बोल्ड गरे। यस्तै करणले ब्रेन्डन म्याकमुलनलाई ३१ रनमा ललितनारायण राजवंशीको हातबाट क्याच ‍गराए ।

क्रिस ग्रेभ्सलाई ललितले ७ बलमा एलबिडब्लू आउट गरे भने मार्क वाट ८ रनमा आउट भए ।

बलिङमा नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए। उनले १० ओभरमा ४५ रन दिए ।

करण केसीले ३ विकेट लिए। उनले ८.१ ओभरमा ४२ रन खर्चिए। ललित र कुशल मल्लले १-१ विकेट लिए ।

यसअघि नेपालले सिरिजमा लगातार तीन खेलमा जित हात पारेको थियो। नेपालले नामिबियालाई दुवै खेलमा पराजित गर्दा स्कटल्यान्डविरुद्धको पहिलो खेलमा जित हात पारेको थियो।

लिग-२ मा स्कटल्यान्ड च्याम्पियन भइसकेको छ। लिग-२ को शीर्ष टिम स्कटल्यान्डले ३५ खेलबाट ५० अंक जोडेको छ । दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ । तेस्रो स्थानको नामिबियाले अन्तिम ३४ खेलबाट ३७ अंक जोडेको छ। चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ ।

लिग-२ मा नेपाल छैटौं स्थानमा छ। नेपालले लिग-२ मा आफ्ना ९ खेल खेल्न बाँकी छदा २७ खेलबाट २४ अंक जोडेको छ। नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ ।

लिग-२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ ।

लिग-२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन् । अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ। जसमा नामिबिया बलियो स्थानमा रहदा नेपाललाई शीर्ष तीनमा पर्न कठिन छ ।

आइसिसीले क्रिकेट विश्वकप २०२३ को छनोटका लागि तीन वटा लिग गरिरहेको छ । जसमा टेस्ट मान्यता प्राप्त १२ टिम र नेदरल्यान्ड्स गरी १३ टिमबीच सुपर लिग, नेपालसहित सात एकदिवसीय मान्यता प्राप्त टिमबीच लिग-२ र एसोसिएट टिमबीच प्रतिस्पर्धा भएको च्यालेन्ज लिग रहेका छन् ।

सुपर लिगबाट ७ टिम र आयोजक भारत गरी आठ टिम विश्वकप २०२३ मा पुग्नेछन् । अब दुई स्थानका लागि सुपर लिगका पाँच टिम, लिग-२ का तीन टिम र क्वालिफायर प्लेअफका दुई टिम गरी १० टिमबीच छनोट प्रतियोगिता हुँदैछ । क्वालिफायर प्लेअफमा लिग-२ का चार टिम र च्यालेन्ज लिगका दुई टिम गरी छ टिमबीच प्रतिस्पर्धा हुनेछ ।