चितवन,९ फागुन ।
गैँडाको आक्रमणबाट पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार आज बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर–९ लालपर्सा नजिक उनलाई गैँडाले आक्रमण गरेको हो । बिहान ६ बजेको समयमा तामाङ मृतावस्थामा भेटिएको र घटनाको प्रकृति एवं चोट हेर्दा गैँडाको आक्रमण गरेको देखिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट जिल्लामा पाँच जनाकाे मृत्यु भएको छ । जसमध्ये बाघको आक्रमणबाट एक ,हात्तीको आक्रमणबाट एक र गैँडाको आक्रमणबाट तीन रहेका छन् ।






