काठमाण्डाै,२ फागुन ।
यातायात व्यवसायी र मजदुरहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
आज बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्तामा मजदुरलाई कुटपिट गर्नेमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानबिन गर्ने सहमति भएपछि आन्दोलन फिर्ता लिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । सरकारले यातायात क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएकाले आन्दोलन फिर्ता लिइएको उनलेे बताए ।
ट्राफिक प्रहरीले बढाएको जरिबानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले आन्दोलनमा गरेका थिए ।
यातायात मजदुरहरूले हिजो बालाजु बसपार्क क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो ।
आन्दोलनका कारण बिहान काठमाण्डौ उपत्यकामा कम गाडी चलेका थिए । काम विशेषले हिँड्नेहरु समस्या परेका थिए । अहिले भने गाडीको आवागमन सामान्य भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।






