काठमाडौं,१ फाल्गुन ।
काठमाडौंको बालाजु क्षेत्रमा भएको यातायात मजदुरसँगको झडपमा परी २० जना प्रहरी घाइते भएका छन् ।

सोमबार दिउँसोदेखि सुरु भएको आन्दोलनमा भिड उत्तेजित हुँदै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलभित्रै प्रवेश गरेको छ । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दिवेश लोहनीका अनुसार केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ ।

अन्दोलनकारीले प्रहरीका दुई गाडीमा आगजनी गरेको छ । त्यस्तै प्रहरी बिटमा समेत आगनजी भएको छ । उनीहरुले माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी बिट जलाएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ पछिल्लो समय ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध आन्दोलनरत छन् ।

आफ्ना मागहरू तत्कालै सम्बोधन हुनुपर्ने र कानुन संशोधन लगायतका नीतिगत विषयहरूलाई सम्बोधन गर्ने गरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने संगठनहरूको अडान छ ।

यसैबीच यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै गाडी नचलाउने घोषणा गरेका हुन् ।

नयाँ बसपार्कको ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै सडकमा उत्रिनुपरेको मजदुरहरूले बताएका छन् । आज उनीहरुले बालाजुमा सडकमै गाडी तेर्स्याएर प्रदर्शन गरेका छन् ।