काठमाण्डाै,१ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस अब नेपालकै सम्पत्ति भएको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसको औचित्य सिद्ध गर्दै ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको प्रचण्डको भनाइ छ ।

उनले आफूले यस पटकको सरकारको नेतृत्वलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको उल्लेख गर्दै असफल हुने छुट नरहेको उल्लेख गरे । सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नुको विकल्प नरहेको पनि उनलेे बताए ।

केही समयदेखि संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कयौँ कोणबाट प्रश्न उठाउने कोसिसहरु भइरहेको उल्लेख गर्दै
प्रधानमन्त्री प्रचण्डले जनयुद्धको औचित्य पुष्टि गर्नु अपरिहार्य भएको उल्लेख गरे । फेरि एक पटक नयाँ संकल्पसहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई एकताबद्ध भएर सामाजिक न्याय र रुपान्तरणको निम्ति अघि बढ्न अपिल समेत गरे ।

प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति भइसकेको उल्लेख गर्दै छिट्टै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि बढ्ने बताउनु भयो ।