काठमाण्डाै,२९ माघ ।
नेपाल चिकित्सक सङ्घले डाक्टरमाथि भएको कुटपिटको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द भएको छ ।
संघले देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालबाट प्रवाह हुने आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम नागरिकले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न संघले माग गरेको छ ।
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प हुँदा बिरामी भने मर्कामा पर्ने भएका छन् । यसको जिम्मेवारसमेत सरकार नै रहेको सङ्घका महासचिव डा. बद्रि रिजालले बताए । डाक्टरमाथि भएको कुटपिट अनुचित भए पनि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्नु ठिक नहुने भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया आइरहेका छन् ।
यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा डाक्टरलाई कुट्ने प्रहरी निलम्बनमा परेका विषयमा पनि टिप्पणी भइरहेको छ । व्यक्तिलाई निलम्बन गर्नुभन्दा पनि प्रवृत्तिकाे अन्त्य गर्नु पर्नेमा धेरैको जोड छ।







