कपिलवस्तु,२६ माघ
िकपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ स्थित जामिया सिराजुल उलुम अल्सलफियामा मदरसाका विद्यार्थी संगठनको आयोजनामा भएको बिभिन्न खेलकुद प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गरिएको छ ।

बिहिबार जामिया सिराजुल उलुम अल्सलफिया मदरसाका अध्यक्ष समिम अहमद नदवीको अध्यक्षता र कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मदरसामा हालै सम्पन्न भएको खेलकूद प्रतियोगिता तथा बर्षभरी भएको खेल लगायत अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थी लाई पुरस्कार वितरण गरिएको मदरसाका अध्यापक डा. अब्दुल गनि अल्कूफीले जानकारी दिए ।

लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले खेलले विद्यार्थीमा सामुहिक भावनाको विकास गराउनुका साथै शारीरिक र मानसिक रूपमा व्यक्ति लाई सबल बनाउने भन्दै उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थी लाई हौसला प्रदान गरेका थिए ।

कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, राष्ट्रीय मदरसा संघ नेपालका पदाधिकारी तथा सदस्यहरु, शिक्षा प्रेमी, समाजसेवी, विद्यार्थी हरूको सहभागिता रहेको थियो ।

सो अवसरमा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक नवराज ढुंगाना तथा विओपी कृष्णनगरका सशस्त्र प्रहरी निरीक्षक जोगेंद्र केसी लाई सम्मान गरिएको थियो ।