बुटवल,२६ माघ ।
रुपन्देहीको देवदहमा विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आराेपमा एक शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा देवदह नगरपालिकाका ७ शितलनगरका ३६ वर्षीय मोहन गुरुङ रहेका छन् ।

उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।

विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीकहाँ उजुरी परेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार गुरुङले माघ २० गते शुक्रबार देवदहको ढेकारस्थित होटलमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेका थिए ।

जबर्जस्तीपछि किशोरीले घटना बाहिर ल्याएकी थिइन् भने अभिभावकले प्रहरीमा जबर्जस्ती करणीविरुद्ध उजुरी दिएका थिए ।
उजुरीपछि फरार शिक्षकलाई बुधबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । उजुरीका आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।