काठमाडौं,२५ माघ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले क्वारेन्टिनविनाको तरकारी भारतबाट आउन नदिने चेतावनी दिएको छ ।
बुधबार पार्टी केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका महासचिव चन्दले क्वारेन्टिनविनाको तरकारी भारतबाट आउन नदिने चेतावनी दिएका हुन् ।
महासचिव विप्लवले राज्य दलाल पुँजिवादको पक्षमा रहेको भन्दै त्यसकै कारण नेपालका किसानले उत्पादन गर्ने बस्तुले मूल्य नपाउने अवस्था सिर्जना भएको बताए ।
‘नेपाल खाद्यान्नमा आत्म निर्भर हुन नेपालकै खेतमा धान फल्नुपर्छ, नेपालका डाँडाकाँडामा फलफूल फल्नुपर्छ । नेपालको हिमालमा स्याउ फल्नुपर्छ’, विदेशीले दुईचार हजार डलर दिँदैमा नाक रगडेर हिँड्न नहुने उनको भनाइ छ ।
‘नेपालमा किसानहरूले आलु, साग, काउली लगायतका तरकारी फलाउँछन् । अनि भारतले सस्तोमा क्वारेन्टिन नगरी तरकारी पेलिदिन्छ । जब यहाँ नेपाली किसानको तरकारी विक्री हुँदैन र फालिन्छ अनि अभाव सिर्जना हुन्छ । त्यसपछि महँगोमा भारतबाट तरकारी ल्याइन्छ । सानो सानो कुराबाट पनि पुजी पलायन हुन्छ’, महासचिव विप्लवले भने, ‘नेपालमा क्वारेन्टिन नगरेको तरकारी आयात गर्न रोक्नुपर्छ । त्यो काम हाम्रो पार्टीले गर्छ गरिरहेको पनि छ ।’






